काठमाडौं।
पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् ।
आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीका एकता कायम राख्न भन्दै ५ प्रस्ताव राखेको सचिवालयले जानकारी दिएको हो ।
आफूले पार्टीमा एकता कायम राख्नका लागि केही प्रस्ताव सभापति र पदाधिकारीसमक्ष राखेको कोइरालाले बताएका छन्। ‘मलाई वरिष्ठ नेता चाहिएको छैन । पार्टीमा एकता कायम राख्नुपर्छ भनेको छु । त्यसका लागि गर्नुपर्ने केही काम पनि मैले पार्टी पदाधिकारीलाई दिएको छु,’ कोइरालाले भनेका छन् ।
कोइरालाले १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने प्रस्ताव गरेका छन् ।
यस्तै कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने र निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव गरेका छन् ।


















