काठमाडौं ।
सभामुख डोलप्रसाद अर्याल(डीपी)ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायक(सांसद)ले ध्यान दिनुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा कार्यक्रममा बोल्दै सभामुख अर्यालले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताएका हुन् ।
सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए । ‘विधेयकको निर्माण कसले गरिदिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?’, उनले भने ।
कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उनले बताए । ‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ,’ उनले भने, ‘तिमी प्रयोग गर भनेर लाद्ने कोसिस गर्छौँ । यसबाट जनताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।’
सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरूले खेलेको भूमिका असाधारण रहेको पनि बताए । उनले अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको सङ्घर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, सङ्घीय संसद् सचिवालयका महासचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायत उपस्थिति थिए । –रासस


















