गल्याङमा सुरक्षित आवासका लागि जस्ता पाता वितरण

केन्द्रभाग मिडिया

गल्याङ ।

गल्याङ नगरपालिकाले विभिन्न समयमा विपद्मा परेका नगरवासीलाई जस्ता पाता वितरण गरेको छ ।

विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत विभिन्न प्राकृतिक तथा आकस्मिक विपत्तिबाट प्रभावित नागरिकहरुलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जस्ता पाता वितरण गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार नगरपालिका भित्र विभिन्न समयमा विपद्मा परेका ३८ जना नागरिकहरुलाई कुल ८४ बण्डल जस्ता पाता वितरण गरिएको हो ।

विपद्का कारण असुरक्षित बनेका घरपरिवारलाई सुरक्षित बसोबासको अनुभूति दिलाउने, पुनःस्थापनामा टेवा पुर्‍याउने तथा नागरिकको आधारभूत आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त सहयोग वितरण गरिएको उनले बताए ।

यस आगडि विपद्मा परेका नागरिकको लगतसंकलन गरिएको र अब वर्षादको समय समेत आएकाले थप पीडा भोक्न नपरोस र सुरक्षित बासको व्यवस्थापन होस् भनेर जस्ता पाता वितरण गरिएको प्रमुख भट्राईको भनाई छ । ‘हामीले यस अगाडि विपदमा परेका नागरिकको नाम संकलन गरेका थियौं । छानो नभएका कारण पुनः समस्यामा नागरिक नपरुन भनेर नै जस्ता पाता वितरण गरेका हौं’ उनले भने ।

प्रमुख भट्टराईका अनुसार यस अगाडि समेत आवास विहिन भएकाका लागि आवास निर्माण लगायतका कार्यक्रम समेत गरिएको थियो । जनताको सुखदुखमा जनताको घरदैलोको सरकार भएकाले गल्याङ नगरपालिका आफ्नो नगरवासी प्रति जिम्मेवार रहेको उनले अथ्र्याएका छन् ।

  • ६ जेष्ठ २०८३, बुधबार २०:३३ प्रकाशित