काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे ।
स्कटल्यान्ड विरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको हो । पराजित भएपछि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ ।
अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।


















