काठमाडौंमा युवकको हत्या, भिनाजु पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार गएराति करिब ९ः १५ बजे उनीहरूबिच घरायसी विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षका जाकिरमाथि प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ९ः ३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ हो ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समि अहमदलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ ।प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ ।

  • ३ जेष्ठ २०८३, आईतवार ११:१८ प्रकाशित