काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो ।
कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् ।
उता, काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन । एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन् ।
कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठनलाई लिएर विगतका वर्षहरूमा देखिने गरेको अन्योल यसपटक भने नहुने सरोकारवालाहरूले दाबी गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० का पूर्व महासचिव लोकबहादुर भण्डारीले सरकारको पछिल्लो व्यवस्थापन र परीक्षा तालिकाको सराहना गरेका छन् । साथै, यसपटक विद्यार्थी र अभिभावकहरू कुनै अन्योलमा पर्नु नपर्ने उनले बताएका छन् । उनले कक्षा १२ को परीक्षा समयमै सकिएकाले समग्र भर्ना प्रक्रिया व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
















