पोखरा ।
दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघसंस्थाको अवार्ड प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघलाई उक्त अवार्ड प्रदान गरिएको हो । कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष संजयकान्त सिग्देललाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनलाई तमु धीँ युकेका ट्रस्टी एवम् सहारा क्लबका मानार्थ सल्लाहकार महेश गुरुङ, फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका नेपाल प्रमुख कमल खड्का, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।
वि.सं. २०४२ सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुदबाट कास्की क्रिकेट संघको यात्रा औपचारिक रूपमा सुरु भएको हो । त्यसको एक दशकपछि, अर्थात् २०५१ सालदेखि कास्कीले ‘जय ट्रफी’ राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता जनाउन थाल्यो । यहीँबाट सुरु भयो एउटा संगठित क्रिकेटको सपना ।
क्रिकेटलाई संस्थागत स्वरूप दिन २०५४ साल माघ १९ गते डा. वीरेन्द्र सिंह गुरुङको नेतृत्वमा कास्की जिल्ला क्रिकेट संघको विधिवत गठन भयो । २०५८ मा नेपाल क्रिकेट संघका तत्कालीन महासचिव विनयराज पाण्डेको उपस्थितिमा यसलाई पुनर्गठन गरियो, जसले मैदान निर्माण र व्यवस्थापनमा नयाँ उर्जा थप्यो ।
नेतृत्वको यो सिलसिला देवेन्द्र प्रजु हुँदै वर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलसम्म आइपुग्दा कास्कीको क्रिकेटले एउटा व्यावसायिक गति समातिसकेको छ । हाल गण्डकी प्रदेश क्रिकेट संघमार्फत यो अभियान झनै सशक्त बनेको छ ।
तत्कालीन राखेप सदस्य सचिव विनोदशंकर पालिखेको पहलमा पोखरा रङ्गशाला क्रिकेट मैदानको भोगचलन अधिकार प्राप्त हुनु कास्की क्रिकेटका लागि ‘टर्निङ पोइन्ट’ बन्यो । आज यही मैदान राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई काँध थापिरहेको छ ।
मैदान मात्र होइन, यो माटोले देशलाई मैदानका नायकहरू’ पनि दिएको छ । दीपेश खत्री, करण के.सी., र पछिल्लो समय उदाएका अर्जुन कुमाल जस्ता प्रतिभाहरूले राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गरेका छन् । महिला क्रिकेटमा रचना चौधरी, शिला रेग्मी क्षेत्री, सृष्टी जैसी, सुमन खतिवडा र मनिषा उपाध्याय जस्ता खेलाडीहरूले गण्डकीको शिर उच्च बनाएका छन् ।
भैरहवामा यू–१९ क्षेत्रीय च्याम्पियन बन्नु होस् वा राष्ट्रिय स्तरका प्रतियोगितामा उपविजेता बनेर कास्की र गण्डकीले कडा चुनौती दिनु, सधैँ तारिफयोग्य रहेको छ ।
आयोजनाको हिसाबले पोखरा आज ‘क्रिकेट हब’ बनेको छ । १३ औँ दक्षिण एसियाली खेलकुदमा महिला क्रिकेट, नेपाल–मलेसिया फ्रेन्डशिप सिरिज र पोखरा प्रिमियर लिग जस्ता गौरवशाली प्रतियोगिताहरू यहाँ सफलतापूर्वक सम्पन्न भएका छन् । केपी ओली कप र मनमोहन स्मृति जस्ता प्रतियोगिताले यहाँको क्रिकेटलाई चलायमान बनाइराखेका छन् ।
यस्तै बेलायतको पुरानो क्लब मेल्बोर्न क्रिकेट क्लबको अन्र्तराष्ट्रिय भ्रमणको अवसरमा उक्त क्लबको महिला सिनियर टोली र नेपाली महिला टोलीबीच भएको ऐतिहासिक मैत्रीपूर्ण खेलले दुई देशको सम्बन्ध उजागर गरेको छ ।
यिनै गतिविधिका कारण कास्की जिल्ला क्रिकेट संघलाई नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १० औं रारा पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेल संघसंस्थाको अवार्ड प्रदान गरिएको हो ।














