सरकारको नीति तथा कार्यक्रम पूर्णरुपले खारेज गर्न एमालेको माग

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।‘राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन यो नीति तथा कार्यक्रम खारेज हुनुपर्छ । र, पूर्ण संशोधन र पुनर्लेखन गर्नै पर्दछ’, उनले भने ।

यसैगरी बादलले जेनजी आन्दोलन र रास्वपा सरकार गठनप्रति आक्रामक टिप्पणी समेत गरेका छन् । उनले राष्ट्रिय झन्डा ओढेर देश जलाउनेप्रति यो नीति तथा कार्यक्रम किन मौन छ रु भनेर प्रश्न उठाए ।

‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालय जलाउँदा नेपाली सेना रहस्यमय ढङ्गले किन मुखदर्शक बन्यो रु लिपु लेकमा अतिक्रमण हुँदा त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ ? असंलग्न नीतिको खिल्ली उडाउँदै टिओबीहरुको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’, सरकारमाथि गम्भीर प्रश्न उठाउँदै बादलले भने ।

यसैगरी सुसंस्कृत सभ्य बन्नुपर्ने प्रतिनिधिले संसदमा बारम्बार असभ्य प्रदर्शन गर्दा समेत सभामुख लाचार र नतमस्तक भएको उनले आरोप लगाए ।रास्वपाले घोषणा गरेको बाचा पत्र वास्तवमा सुशासन, स्थायित्व, दिगो शान्ति समृद्धि, लोकतन्त्र सम्बर्द्धन र राष्ट्रका लागि नभई, त्यो रास्वपाको अधिनायकवाद स्थापित गर्ने डिजाइन भएको आरोप लगाए ।

  • २९ बैशाख २०८३, मंगलवार १६:३१ प्रकाशित