पोखरा ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर केसीले २१ औं सताब्दीमा पनि नेपालमा सार्वजनिक यातायातका चालक मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउँछन् भन्न पर्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ७ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसले यात्रुको सुरक्षामा गम्भिर प्रश्न खडा गरेको भन्दै यातायात व्यवसायी पनि यसमा गम्भिर बन्नुपर्ने बताए ।
केही दिन अगाडि रुपन्देहीमा एक सय जना सवारीचालकमा गरिएको लपसे चेकजाँचमा २० जनाले लापसे सेवन गरेको पाइएको प्रसंग कोट्याउँदै उनले सवारी दुर्घटना न्युनिकरण आजको महत्वपूर्ण एजेण्डा बन्नुपर्नेमा जोड दिए । ‘आजको २१ औं सताब्दीमा, आजको डिजिटल युगमा सवारीचालकहरुले मादक पदार्थ सेवन गरेर, लागुऔषध सेवन गरेर सवारी चलाउँछन् भन्न पर्नु राष्ट्रिय लज्जाको विषय हो ।’ उनले भने, ‘यस्तो विषयमा नेपाल प्रहरी सम्बेदनशील छ । व्यवसायीपनि सम्बेदनशील हुनुपर्दछ ।’
महानिरीक्षक कार्कीले सर्वजनिक यातायातका साधन सञ्चालन हुने गन्तव्यमै मापसे र लापसेको चेकजाँच, चालकको शारीरीक अवस्थाको चेकजाँच र सवारीको चेकजाँच गर्ने अनिवार्य व्यवस्था गनुस्पर्नेमा उनले जोड दिए । त्यसका लागि केही कर्मचारी खटाउन उनले व्यवसायीलाई आग्रह गरे । नेपाली प्रहरीको तर्फबाट त्यसका लागि जनशक्ति प्रदान गर्न समस्या नरहेको उनले सुनाए । सवारी दुर्घटना बृद्धि हुनेक्रम बढेको भन्दै त्यसलाई रोक्नु सबैको साझा कर्तब्य र दायित्व भएको उनले सुनाएका छन् ।













