पोखरा ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला भइसकेका छन् ।
आज सुरु हुने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २९ बैशाखमा सम्पन्न हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव भानुभक्त बरालले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा देशका ७७ जिल्लाका २ भन्दा धेरै व्यवसायी सहभागी हुने छन् । उनले भने, ‘यात्रुबाहक तथा मालबाहक सवारी साधनका संघ/समिति/कम्पनी/प्रालि/पर्यटन, सहकारीहरुका ३८७ महासंघ सदस्यहरुका करीब २ हजार भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदैछन् ।’
महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् । उनका अनुसार पहिलो दिन उद्घाटन शत्र चल्नेछ भने दोस्रो दिन बन्दशत्र सञ्चालन हुनेछ । महाधिवेशनको अन्तिम दिन नया नेतृत्व चयन प्रक्रिया हुनेछ ।
महाधिवेशनमा नयाँ नेतृत्वका लागि तीन जनाले अध्यक्षमा अकांक्षा देखाएका छन् । पुण्यप्रसाद (सरोज) सिटौला, हरिशरण केसी र केदार क्षेत्रीले अध्यक्षमा अकांक्षा देखाएका हुन् ।

सरोज सिटौला सह–कोषाध्यक्ष हुँदै कोषाध्यक्ष, महासचिव र हालको केन्द्रीय कार्यसमितिमा पहिलो वरीयताका वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
हरिशरण केसीले केन्द्रीय सदस्यबाट सुरु गरी सचिव, उप–महासचिव, उपाध्यक्ष र दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् ।
केदार क्षेत्री नेपाल अरनिको यातायात सेवा प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । उनी महासंघमा उपाध्यक्ष र दुई पटक वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् ।
अर्का बरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले भने बरिष्ठ उपाध्यक्षमै दोहोरिने इच्छा प्रकट गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका निवर्तमान संयोजक संयोजक केदार पौडेल पनि बरिष्ठ उपाध्यक्षका दाबेदार छन् ।
निवर्तमान गण्डकी प्रदेश सचिव एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष रहेका योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दाबी गरेका छन् ।
महाधिवेशन अहिलेको अवस्थामा देशको यातायात व्यवस्थापनको समग्र नीति तय गर्दै नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ ।













