काठमाडौं ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा मनोजकुमार शर्मा सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशको रुपमा न्यायाधीश शर्मालाई सिफारिस गरेको हो ।
परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ । समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको रुपमा नियुक्त गर्नेछन् । शर्मा सर्वोच्चको ३३ प्राधानन्यायाशीश बन्ने छन् । सुनुवाइका लागि केही समय लाग्ने छ ।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि सर्वोच्च अदालत कायममुकायको भरमा चलिरहेको थियो । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले कामुको रुपमा न्यायलयको नेतृत्व गरिरहेकी थिइन् ।
न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना स्थायी न्यायाधीशको रोष्टर पठाएको थियो ।
सोही रोष्टरबाट संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गरेको हो । न्याय परिषद्ले २६ फागुनमा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पठाएको थियो ।












