सांसदको हाजिरी अब डिजिटल : बायोमेट्रिक विवरण संकलन थालियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको हाजिरी अब डिजिटलमाध्यम बाट हुने भएको छ । त्यसको लागि सदस्यहरूको उपस्थिति प्रणालीलाई प्रविधिमैत्री बनाउन बायोमेट्रिक विवरण सङ्कलनको काम सुरु गरेको छ।

संसद् र यसका विभिन्न विषयगत समितिहरूको बैठकमा सांसदहरूको उपस्थितिलाई विद्युतीय माध्यमबाट अभिलेखन गर्ने उद्देश्यले बिहीबारबाट यो अभियान थालिएको हो। अबको केही समयपछि संसद्का बैठकहरूमा सांसदहरूले म्यानुअल (कागजी) हाजिरीको सट्टा डिजिटल माध्यमबाट आफ्नो उपस्थिति जनाउनुपर्नेछ।

सचिवालयका अनुसार पहिलो चरणमा केही विषयगत समितिका सांसदहरूको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेको छ। हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति र विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण लिने काम सकिएको छ। यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्यहरूको विवरण सङ्कलन कार्य पनि जारी रहेको सचिवालयले जनाएको छ।

सांसदहरूको कार्यव्यस्तता र समितिका बैठकहरूलाई ध्यानमा राख्दै सचिवालयले विवरण सङ्कलनका लागि छुट्टाछुट्टै कार्यतालिका समेत सार्वजनिक गरेको छ। शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन गरिनेछ।

विवरण सङ्कलनको बाँकी काम आगामी सातासम्म चल्नेछ। वैशाख २८ गते सोमबार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको विवरण सङ्कलन गरेपछि यो प्रक्रिया करिब अन्तिम चरणमा पुग्ने सचिवालयले उल्लेख गरेको छ।

विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूको उपस्थितिको अभिलेख राख्न सहज हुने, पारदर्शिता बढ्ने र तथ्याङ्क व्यवस्थापनमा शुद्धता आउने विश्वास गरिएको छ। यसअघि सांसदहरूले बैठक कक्ष बाहिर राखिएको रजिस्टरमा हस्ताक्षर गरेर हाजिरी जनाउँदै आएका थिए।

  • २४ बैशाख २०८३, बिहीबार १३:०२ प्रकाशित