काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी)ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।
मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए ।
आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे ।
स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए ।
सरकारले हाल नेपाल आयल निगमका कर्मचारीलाई बोनस दिने काम नगरेको पनि बताए ।













