काठमाडौं।
नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमै चुनाव गर्न चाहेको स्पष्टिकरण दिएका छन् । देउवाको चाहना वैशाखमै स्थानीय तहको निर्वाचन गराउने भए पनि गठबन्धन दलहरुले नचाहेको कारण समस्या भएको लेखकले बताएका छन् ।
नेता लेखकले एक इन्टरभ्युमा बोल्दै भनेका छन्,‘निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नुपर्छ भनिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा निर्वाचन गर्न नचाहेको भन्ने मलाई लाग्दैन । समयमै गरौं भन्ने उहाँको चाहना छ । तर यो कांग्रेसको मात्र सरकार होइन । ५ दलीय संयुक्त सरकार हो । प्रधानमन्त्रीसँग सबैलाई समेटेर जानुपर्ने बाध्यता छ । तर वैशाखमा गर्ने कि सार्ने विषयमा गठबन्धनको निष्कर्ष आएको छैन ।’
कांग्रेस नेता लेखकले संविधानको भावना हेर्दा स्थानीय तहको निर्वाचन वैशाखमा गर्नु उचित हुने औंल्याए ।