पोखरा ।
गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी र लुटपाटमा परेको पोखरास्थित भाटभटेनी सुपर स्टोर पुनःनिर्माण भएर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
सोमबार धार्मिक विधिपुर्वक पुजाआजा गरे पछि सो स्टोर विधिवत् रुपमा संचालनमा ल्याइएको हो । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीले ध्वस्त भएको भवन पुनःनिर्माण गरेर पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
यसअघि कोटेश्वर, महाराजगन्ज र चितवनस्थित स्टोर पनि पुनः सञ्चालनमा ल्याइएको थियो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए ।
‘फेरि पनि सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति रहनेमा हामी आशावादी छौं’ प्रबन्ध निर्देशक गुरुङले भने ।













