संसदीय दलका सबै पदाधिकारीको पदपूर्ति गर्न सभामुखको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न सुझाएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नो कक्षामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा सभामुख अर्यालले पहिला संसदीय दलका पदाधिकारीको पदपूर्ति गर्न सुझाएका हुन् ।

बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सभामुखले प्रमुख सचेतकहरूसँग पहिलो बैठक गरेको र त्यसमा सदनको काम सहज रूपमा सञ्चालन गर्न पदाधिकारीहरू पदपूर्ति गर्न सुझाएको जानकारी दिइन् ।

‘सभामुखज्यूले प्रमुख सचेतक र सचेतकहरूसँग पहिलो बैठक गर्नुभएको हो । शुभकामना आदानप्रदान र सदन सञ्चालनका विषयमा सल्लाह र समन्वय गर्ने विषयमा कुराकानी भयो,’ प्रमुख सचेतक थापाले भनिन्, ‘छलफलका क्रममा सभामुखज्यूले संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न र सचिवालयमा जानकारी गराउन सुझाउनुभयो ।’

सभामुख अर्यालले सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीसहितका केही दलले पदाधिकारीहरूको विवरण सचिवालयमा उपलब्ध नगराएको भन्दै गराउन आग्रह गरेका थिए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार, नेपाली कांग्रेसबाट प्रमुख सचेतक थापा, नेकपा एमालेबाट सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए ।

श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी थिएनन् ।

  • २१ बैशाख २०८३, सोमबार १४:५० प्रकाशित