पोखरा ।
देशकै पर्यटकीय राजधानी घोषित गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गरेपछि यात्रु ओराल्ने र उकाल्ने बसपार्कको अवस्था भद्रगोल छ । जताततै खाल्डाखुल्डी, अब्यवस्थित घर टहराहरु र फोहोर मिसिएको उछिट्टिने हिलो र धुलो पोखरा बसपार्कको विशेषता नै बनेको छ ।
साच्चै भन्ने हो भने बसपार्क अहिलेसम्म बसपार्ककै रुपमा विकास हुन नै पाएको छैन । बसपार्क बनाउनका लागि अधिग्रहण गरिएको जग्गाको अधिकांश हिस्सामा बस पार्किङ स्थल होइन झुप्रा घर टहराले ढाकिएको छ । यात्रुबहाक बसहरु बस बसपार्कका लागि छुट्याइएको जग्गाबाट भन्दा बाहिर सडकबाट नै धेरै छुट्ने र यात्रु ओराल्ने काम हुन्छ ।
पोखरा उपत्यका नगरविकास समितिले बनाएको अध्यान समितिले दिएको पृथ्वीचोक बसपार्क अध्ययन प्रतिवेदन–२०८२ का अनुसार अहिले बसपार्कको जम्मा २६ रोपनी जमिनमा मात्र बस पार्किङ गर्न मिल्छ ।
पोखरा उपत्यका नगरविकास समितिको पोहोर १५ वैशाखमा बसेको बोर्ड बैठकले लोकदर्शन कोइरालाको संयोजकत्वमा समिति गठन गर्दै पृथ्वीचोक स्थित बसपार्क निर्माणका लागि राय सहितको प्रतिवेदन दिने जिममेवारी दिएको थियो । सोही निर्णय बमोजिम हालै कोइरालाले १०२ पृष्ठ लामो बसपार्क अध्ययन प्रतिवेदन उपत्यका नगरविकास समितिका अध्यक्ष समेत रहेका पोखरा महानगरका प्रमुख धनराज आचार्यललाई बुझाएको छ ।
२०५ रोपनी जमिन ८१ रोपनीमा खुम्चियो
पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । झण्डै ५१ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन ।
पूर्वमा सेतीनदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको २ सय ५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । त्यतिमात्र होइन, त्यहाँ झण्डै ४ सय ५७ अव्यवस्थित एवं सुकुमवासी परिवार बस्ने घरटहरा रहेका प्रतिवेदनमा उल्लेख छ । सबै भएका अब्यवस्थित टहरा नहटाउने हो भने त्यहाँ मुस्किलले २६ रोपनी जमिन अहिले बस पार्किङ गर्न मिल्ने अवस्थामा छ ।
पोखरा उपत्यका नगरविकास समितिका तत्कालिन अध्यक्षहरु असोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोलाका पालामा विभिन्न ब्यक्ति र सस्थाको नाममा बसपार्कको जग्गा व्यक्तिलाई दिने निर्णय भएको छ ।
तत्कालिन अध्यक्ष क्षेत्रबहादुर केसी र विष्णु बास्तोलका पालामा जग्गा दिने काम भएको पोखरा उपत्यका नगरविकास समितिका कर्मचारीले जानकारीहरु बताउँछन् । एयरपोर्ट बनाउने बेला उत्तर पूर्वी कुनामा बसेका होटेल व्यवसायीहरुलाई बसपार्क कै जग्गामा सारिएको थियो । त्यस मध्ये पश्चिम लाइनमा ३१ वटा घडेरी ३ लाखका दरले, दक्षिण लाइनमा ११ वटा घडेरी २ लाख ६० हजारका दरले र होटेल पूर्वी लाइनमा ३४ घडेरी मध्ये ३२ वटाको १ लाख ८० हजारका दरले दिइएको पोखरा उपत्यका नगरविकास समितिमा अभिलेख छ ।
असोक पालिखे २२ मंसिर २०५६ देखि १३ आसोज २०६० सम्म पोखरा उपत्का नगर विकास समितिका अध्यक्ष थिए । क्षेत्र बहादुर केसी १४ असोज २०६० देखि २५ असोज २०६१ सम्म अध्यक्ष थिए । विष्णु प्रसाद बास्तोला २६ असोज २०६१ देखि १५ कार्तिक २०६३ सम्म, १८ माघ २०६७ देखि २६ बैशाख २०६८ सम्म र १३ बैशाख २०७० देखि १ बैशाख २०७२ सम्म गरेर ३ पटक उपत्यका विकास समितिका अध्यक्ष बनेका थिए ।
तत्कालिन अध्यक्ष अशोक पालिखेले सार्वोच्चमा मुद्धा परेकाले ४ रोपनी बराबर एउटा ९/१५को घडेरी दिने निर्णय भएको बताउँछन् । आफ्नो पालामा निर्णय भएपनि वितरण भने नभएको उनको भनाई छ । अहिले आफूले नै गलतढंगले बसपार्क बेच्यो जसरी मिडियामा कूरा आएको उनले दुखेसो पोखे ।
अधिग्रहण भएको सबै जग्गामा बसपार्क बन्छ : मेयर आचार्य
पोखरा महानगरका मेयर धनराज आचार्यले बसपार्क निर्माणका लागि पोखरा महानगरपालिका र एडीवीको इ–मोविलीटी परियोजनाको सहकार्यमा बसपार्कको डीपीआर तयार पारेको बताए । उनले अधिग्रहण गरिएको सबै जमिनमा बसपार्क बन्नुपर्ने र बन्ने दाबी गरेका छन् ।
अतिक्रमित जमिन कानूनी प्रक्रियाबाट नै फिर्ता ल्याइने र बसपार्क बनाइने उनको भनाई छ । ‘हामीले बसपार्क निर्माणका लागि डीपीआर तयार गरिसकेका छौं । अध्ययन समिति बनाएर सबै डिटेल लिइसकेका छौं । प्रतिवेदनको सुझावलाई आधार मान्दै अतिक्रमित र विक्रीसमेत भएका जमिनलाई कानूनी प्रक्रियाका आधारमा फिर्ता ल्याएर बसपार्क निर्माण गर्छौ’ उनले भने ।
उनले भूमीहिन सुकुमबासी वा भूमीहिन दलितलाई बैकल्पिक व्यस्था गरेरै हटाइने समेत प्रष्ट्याएका छन् । अतिक्रमण गरेर बसेकाहरुलाई अतिक्रमित जमिन छाड्ने ३५ दिने सूचना दिइसकिएको उल्लेख गरेका उनले त्यो ६ जेठमा पूरा हुने बताए । तर, त्यस अगाडि नै त्यसरी ओगटेको जग्गा छाड्ने वातावरण बनाउन लागि परेको उनको भनाई छ ।
बिचौलिया चलखेलका कारण बसपार्क बन्न सकेन : विश्वप्रकास लामिछाने
पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकास लामिछानलेले पोखरा बसपार्क विचौलियाको चलखेलका कारण हालसम्म बन्न नसकेको बताए । बसपार्कलाई आवास पार्कका रुपमा विकास गर्नेहरुका कारण यस्तो अवस्था आएको उनको टिप्पणी छ ।
आफू अध्यक्ष भएको बेला बसपार्कको १ सय ८६ रोपनी मध्य १ सय २५ रोपनीमा पुरै बस पार्र्कीङ गर्न मिल्ने र बाँकी त्यसका लागि पूर्वाधार निर्माण गर्न सर्वपक्षिय सहमति भएको उनले जानकारी दिए । ‘पहिले मनपरी विभिन्न नाममा बसपार्कको जग्गा बाँड्ने काम भएको रहेछ, त्यो सबैलाई खारेज गर्र्दै सर्वदलिय सहमति नै गराएर अधिग्रहण गरिएको पुरै जग्गामा बसपार्क बनाउने निर्णय गराएका हौं’ उनले भने । विश्वप्रकास लामिछाने ३० जेठ, २०६४ देखि ९ बैशाख २०६६ सम्म उपत्यका नगरविकास समितिको अध्यक्ष बनेका थिए ।
दुइतले बसपार्क बनाउनु पर्छ : योगेन्द्रबहादुर केसी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले बसपार्कका लागि अधिग्रहण भएको पुरै जमिन उपयोग गरेर दुइतले बसपार्क बनाउनुपर्ने बताउँछन् ।
अहिले बसपार्क निर्माणको चर्चा भएपनि बनिहाल्छ भन्नेमा आफूलाई विश्वास नभएको टिप्पणी गरेका उनले बसपार्क भने बन्नै पर्ने धारणा राखे ।
‘विगत र अहिलेको सबै हेर्दा बसपार्क बन्ला जस्तो लाग्दैन । तर बसपार्क अत्यावश्यक छ । अब अधिग्रहण गरिएको सबै जमिन उपयोग गरेर दुइतले बसपार्क बनाउने हो भने, समस्या समाधान गर्न सकिन्छ’ उनले भने ।
यस्तो छ बसपार्कको क्षेत्रफल घट्ने सृंखला
१) पूर्व सेतीनदी, पश्चिम ढिकैढिक भएर वैरागी वन जाने बाटो दक्षिण एयरपोर्टको तारवार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको २०५ रोपनी क्षेत्रफलको जग्गा २०३२।११।१८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्क प्रयोजनका लागि अधिग्रहण गरिएको हो । त्यसलाई ट्रायल चेक गर्दा १९६ रोपनी र पृथ्वी राजमार्गको सडक मापदण्ड कटाउदा बाँकी रहन आएको क्षेत्रफल १८७–१०–३–१ छ ।
२) जग्गाधनीलाई मुआब्जा दिने रकम निकासा केन्द्रबाट नआएका कारण देखाउँदै जग्गाधनीहरु अदालत प्रवेश गरी २०५२ सालमा सर्वाेच्च अदालतबाट क्षतिपूर्ति दिनुपर्ने फैसला ।
३) मिति २०६०।२।२१ मा बसेको बैठकले जग्गाधनीहरुलाई उनीहरुको योजनामा परेको जग्गाको ११ प्रतिशत जग्गा पृथ्वी राजमार्ग तर्फ मोहोडा र बसपार्क मोहोडा पारेर घडेरी दिने निर्णय भएको । जसका कारण जग्गाधनी, होटेल व्यवसायी, पन्चरत्न पेट्रोल पम्म र पृथ्वीचोकमा बाटो निर्माण गर्दा जग्गा परेका कल्याणी भारीलाई २ वटा घडेरी गरी ४० रोपनी जग्गा खर्च भएको ।
४) मिति २०६०।३।२ मा भएको वैठकले ९५ रोपनी जग्गामा बसपार्क प्रस्ताव गरेकोमा कार्यान्वयन गर्ने तहमा आइपुग्दा पूर्व भागमा (सेती नदी तर्फ) धाँजा फाट्न गएकोले केही पश्चिम सारेर पुनः नक्साङकन गरिएको । बसपार्क ८१ रोपनीमा सिमित ।
५) ८१ रोपनी बसपार्कभित्र अव्यवस्थित बसोबासीहरु ४५७ घर धुरी छन् । पोखरा उपत्यका नगरविकास समितिको बैठकबाट २०८२/०१/१५ मा लोकदर्शन कोइरालाको संयोजकत्वमा अध्ययन समिति गठन
६) अध्ययन समितिको अध्ययनले देखाएको हाल खाली रहेको बसपार्कको जग्गा मात्र २६–५–२–३ । बसपार्क निर्माणका लागि तीन वटा मोडेल प्रस्ताव ।
हालको अवस्था
१. उत्तरतर्फका पूर्जा देखिएका व्यक्तिहरु २९ क्षेत्रफल २१–६–२–२ ।
२. पूर्वतर्फका व्यवसाय र अन्य जग्गा धनीहरु ३९–१–२–२ क्षेत्रफल ७–८–०–० । (यो क्षेत्रफल कृष्णटोल र शिवटोलमा समावेश भएको छ) ।
३. पश्चिमतर्फ व्यवसाय ३१ क्षेत्रफल ६–१४–३–३ ।
४. कृष्ण टोलमा बसोवास गर्ने २०२ क्षेत्रफल ३९–१–२–२ ।
५. सामुदायीक स्कुल साथै गणतन्त्र टोल र शिव टोलमा बसोवास गर्ने ९१ घरधुरी अन्तरगत पर्ने क्षेत्रफल २१–२–२–० ।
६. दक्षिणतर्फ ११ व्यवसायहरु क्षेत्रफल २–३–३–० ।
७. बिचमा रहेका २९ पुरानो व्यवसायहरु क्षेत्रफल १४–५–२–३ ।
८. शिव टोल दोस्रो र पार्वती टोलमा बसोवास गर्ने १९३ क्षेत्रफल ३९–१२–४–३ ।
९. ग्यारेज बसेको क्षेत्रफल ४–३–३–३ ।
१०. पुल वरिपरिको क्षेत्रफल ७–१०–२–० ।
११. नर्सरी बसेको क्षेत्रफल ४–१२–०–१ ।
१२. हाल खाली रहेको बसपार्क २६–५–२–३ ।













