पोखरा ।
गण्डकी प्रदेश निर्माण व्यवसायी संघले तत्काल निर्माण सामाग्रीको मुुल्य समायोजन गर्न माग गरेको छ ।
इन्धनमा भएको मुल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै व्यवसायीले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो मुल्य समायोजनको माग गरेको हो।
इन्धनसगैं निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेन्ट, डण्डी लगायतका सामाग्रीमा पनि अत्यधिक मुल्यवृद्धि भएको व्यवसायी संघका महासचिव कृष्ण लम्सालले पत्रकार सम्मेलनमा बताए ।
जसका कारण बजारमा निर्माण सामाग्रीको अभाव भइरहेको र निर्माण उद्योग लगभग ठप्प हुने अवस्थामा पुगेको महासचिव लम्सालको भनाई छ ।
निर्माण उद्योगको विकराल परिस्थितिको बारेमा नेपाल सरकार लगायतका सम्बन्धित निकायलाई पत्राचार गरेता पनि समस्याको समाधानका लागि ठोस पहल नगरी सरकारले मौखिक आश्वासन मात्र दिने गरेको निर्माण व्यवसायी संघको गुनासो छ ।
सरकारको वेवास्ताले पूर्वाधार क्षेत्रका निर्माण व्यवासायी र उक्त व्यवसायमा आवद्ध लाखौं श्रमिकहरु र यस क्षेत्रसँग सम्बन्धित अन्य उद्योगहरु आर्थिक रुपमा धाराशायी बनेको भन्दै मूल्य समायोजन गरी निर्माण व्यवसायीलाई तत्काल राहत दिई धराशायी हुनबाट बचाउन संघले सरकारसँग अपिल गरेको छ ।
अहिलेको परिस्थितीमा निर्माण आयोजनाहरु निर्धारित समयमै सकिने सम्भावना नभएको भन्दै संघले बैंक गयारेन्टी, इन्स्योरेन्ससहित सबै आयोजनाहरुको म्यादथपका लागि पहल गरिदिन सम्बन्धित निकायलाई अपिल समेत गरेको छ ।













