पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको स्वीप अपरेशनमा गएराती थप ६१ जना पक्राउ परेका छन् ।
गएराती ११ बजेदेखि आज बिहान ६ बजेसम्मको समयमा पोखराको विभिन्न वडाका एरियाहरुमा लागू औषध विक्रि वितरण गर्ने, सेवन गर्ने, टोले गुण्डा, मादक पदार्थ सेवन गरि होहल्ला गर्दै हिड्ने र रातीको समयमा शंकास्पद रुपमा हिड्डुल गर्ने थप ६१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २ मोहरियाटोल र वडा नम्बर ४ गैह्रापाटनबाट १४ जना,लेकसाइड र ड्यामसाईडबाट २४ जना, बगालेटोल, सभागृहचोक, शिवालयचोक र पृथ्वीचोकबाट ८ जना, काहुँडाँडा, काँहुखोला र रामबजार एरियाबाट २ जना, सराङकोट, लामागाँउ र भलाम एरियाबाट ४ जना, सुन्दरबजार, रिठ्ठेपानी, सैनिक बस्ती, खुदिखोला र साहुको खोर एरियाबाट ९ जनालाई पक्राउ गरिएको पाण्डेले बताए ।
यसअघि वैशाख १० गते राति पक्राउ परेका १२२ जना मध्ये ८ जनालाई लागूऔषध सम्बन्धी कसुरमा, २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुविधा र नैतिकता विरुद्धको कसुरमा म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
यस्तै १५ जनालाई जरिवाना गरी छाडिएको , ७० जनालाई सम्झाईबुझाई गरी आफन्तको जिम्मा लगाई छाडिएको र २ जनालाई होल्डमा राखिएको प्रहरीले बताएको छ ।
कास्कीमा लागूऔषध बिक्री वितरण गर्ने सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा समाजमा धम्की दिने, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने उद्देश्यले पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्कीले स्वीप अपरेशन चलाएको हो ।












