प्रलोपा नेता सुदन किरातीले गरे साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।

किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ को रूपमा आत्मसाथ गरेको बताएका छन् ।

फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।’

पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन् । उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।

‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,’ किरातीले उल्लेख गरेका छन् । उनले यसअघि नै पार्टीमा राजीनामा बुझाएका थिए । तर उनी औपचारिक रुपमा भने बोलेका थिएनन् ।

  • ९ बैशाख २०८३, बुधबार १२:०१ प्रकाशित