रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौं ।

रास्वपाका सभापति रवि लामिछानेलाई सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वत : निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर निवेदन दिएका हुन् ।

तीन दिनअघि पेस भएको रिट निवेदन सर्वोच्च प्रशासनले अझै दर्ता गरेको छैन । रिट निवेदन दर्ता नहुने भए दरपीठ आदेश (दर्ता नहुने भनि लेखिएको आदेश) दिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म अहिलेसम्म उक्त निवेदन दरपीठ भएको छैन ।

सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार पेस भएको रिट निवेदनबारे माथि जानकारी दिनुपर्ने भनेर होल्डमा राखिएको छ ।

रिट निवेदनमा ’सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ लाई मुख्य आधार बनाएका छन्। उक्त दफामा कुनै राष्ट्रसेवक विरुद्ध मुद्दा दायर भएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन हुने बाध्यात्मक व्यवस्था रहेको दाबी गरिएको छ । ’जब गम्भीर अभियोग लागेका व्यक्तिलाई कानुनी परिणाम नटुङ्गिँदासम्म सार्वजनिक पदमा निरन्तरता दिन मिल्दैन भन्ने स्पष्ट व्यवस्था छ, तब त्यसो नगरी क्रियाशील हुन दिनुले विधिको शासनको खिल्ली उडाउँछ,’ रिट निवेदनमा उल्लेख गरिएको छ ।

अघिल्लो सरकारले पू्र्वगृहमन्त्री लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गरेको थियो । त्यसविरुद्धको रिट निवेदन सर्वोच्च अदालतकै पूर्ण इजलासमा तोकिएको छ ।

आउने बिहीबार उक्त मुद्दाको पालो परेको छ ।

  • ८ बैशाख २०८३, मंगलवार १६:२९ प्रकाशित