काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका छन् । गएराति सामाजिक सञ्जालमा लेख्दै उनले आफू विरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको बताएका हुन् ।
उनले वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका र आफूविरुद्ध प्रायोजित हल्ला चलाइएको उल्लेख गरेका छन् ।
गृहमन्त्री गुरुङ सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको आरोप लागेको छ । त्यस्तै, जेनजी आन्दोलनपछि गुरुङले ५० लाखको शेयर खरिद गरेको र त्यसबारे सम्पत्ति विवरण उल्लेख नगरेको समाचार आइरहेका छन् ।
यसैलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको छ भने जेनजी मुभमेन्टसहित धेरैले समाजिक सञ्जालमै उनीमाथि राजिनामाका लागि दबाब दिइएको छ ।
आफूविरुद्धको हल्ला आफ्नो कामबाट डराएकाहरुले गरेको भन्दै उनले त्यसबाट आफू नडगमगाउने भ्रष्टहरुमाथिको कारबाही नरोकिने बताएका छन् ।
‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन् । मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारबाही रोकिँदैन, डगमगाइँदैन । दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ ।’












