काठमाडौं ।
प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ । सोमबार नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले एक प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङबारे आएका समाचारले गम्भीर प्रश्न उठाएको जनाउँदै राजिनमासहित तत्काल छानविनको माग गरेका हुन् । कांग्रेसले भनेको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ ।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको भन्दै समाचार आएका छन् । त्यस्तै, गृहमन्त्री गुरुङले जेनजी आन्दोनलपछि खरिद गरेको शेयरबारे सम्पत्ति विवरण उल्लेख नगरेको पनि आरोप छ ।
यिनै विषयलाई लिएर कांग्रेसले गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेको हो । यस विषयमा ढिलासुस्ती गर्न नहुने कांग्रेसको भनाइ छ ।













