पोखरा ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै व्यवसायी आँफैले भाडा बढाएका छन् । प्रदेश सरकारले भाडा समायोजनमा आलटाल गरेको र आफूहरुले यातायातका साधन सञ्चालन गर्न नै नसक्ने अवस्था आएपछि आफै भाडा समायोजन गरेको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए ।
उनले २०७८ सालदेखि भाडा समायोजन नभएको र इन्धनमात्र नभएर सवारीसहित विभिन्न सामग्रीको भाउ बढ्दा आफूहरु मर्कामा परेको उल्लेख गरे । आफै भाडा बढाउनु रहर नभएर बाध्यता रहेको उनले सुनाएका छन् । संघ सरकारले भाडा समायोजन गरेपछि धेरैपट भाडा समायोजनका लागि गण्डकी सरकारलाई आग्रह गरेको उनले स्मरण गरे । ‘संघ सरकारले पनि भाडा समायोजन गरेको छ । त्यसैको आधारमा प्रदेशमा भाडा समायोजनका लागि पटक पटक प्रदेश सरकारसंग आग्रह गर्यौं । हाम्रो सुनुवाई नभएपछि हामीले आँफै थोरै भाडा बढाउन बाध्य भयौं’ उनले भने ।
पोखरा बससहित पोखरामा गुड्ने सबै कम्पनीका यात्रुबहाक बसको भाडा बढेको छ । बस चढ्ने वित्तिकै पहिलो स्टेसनको २० र त्यसपछि क्रमस बढ्दै जानेमा अब पहिलो स्टेसनकै २५ रुपैयाँ र त्यसपछि क्रमस ५ रुपैयाँका दरले थप भाडा लाग्ने उनले जानकारी दिए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले बसको भाडा सामान्य बढाइएको बताए । पोखरेली ट्याक्सी सेवा प्रालिले पनि पोखरामा केही माइक्रो बस सञ्चालन गरिरहेको छ । ट्याक्सीको भने हाललाई नबढाइएको तर, लामो प्रतिक्षा गर्न नसकिने उनले सुनाए । ‘प्रदेश सरकारको निर्णयको प्रतिक्षामा बसेका छौं । अझै केही दिन समायोजन नभए ट्याक्सीको पनि भाडा समायोजन आँफै गर्न बाध्य हुने परिस्थिति छ’ उनले भने ।
यता भाडा बढेको विषयमा प्रदेश सरकार भने बेखबर रहेको पाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले यातायात व्यवसायीहरुले भाडा बढाएको बारेमा अनविज्ञता प्रकट गरिन् । उनले भाडा समायोजनका विषयमा भने छलफल भइरहेको र सार्वजनिक विदा सकिएपछि भाडा समायोजन हुने उल्लेख गरिन् । विदाको दिन परेकाले अहिले यस विषयमा आफूले धेरै जानकारी दिन नसक्ने बताएको टिप्पणी छ । ‘आज (शनिबार) विदाको दिन हो । मैले यस विषयमा ठ्याक्कै भन्न सकिन । व्यवसायीले भाडा बढाएको विषय थाहा भएन । मन्त्रालयमा भाडा समायोजनको विषयमा छलफल भइरहेको छ । विदा सकिएपछि समायोजनको विषय निस्कर्षमा पुग्छ । अहिले यत्ति भन्न सक्छु’ उनले भनिन् ।
२०७८ माघ यता छैन गण्डकीमा भाडा समायोजन
गण्डकी प्रदेशमा सर्वजनिक यातायातको भाडा ३ माघमा समायोजन भएको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडा समायोजन गरेको गरेकोमा त्यसयता भाडा समायोजन हुनसकेको छैन ।
त्यतिबेला समायोजित भाडा दर अनुसार प्रदेशभित्र लामो दुरीमा चल्ने बसका लागि २३।५१ प्रतिशत भाडा बढेको थियो । नगर बसमा २२।५५ प्रतिशत बढेको थियो । ट्रकको भाडा पनि १४।५७ प्रतिशत बढेको थियो । ट्याक्सीमा मिटर प्रणाली लागुभएको थियो ।
ट्याक्सीमा भाडा समायोजन भइ फ्ल्याग डाउनमा ८० र प्रत्येक २०० मिटरमा १० रुपैयाँ बढ्दै जाने प्राबधान राखिएको थियो । फ्ल्याग डाउनमा पल्स सिस्टममा सुरुको ८० र त्यस पछि १५ किलोमिटरसम्म थप दुइ सय मिटरमा १० रुपैया जाने व्यवस्था गरिएको थियो । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम लागू गरिएको थिएन । १५ किलोमिटर माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडा तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।
तत्कालिन अवस्थामा संघीय सरकारले देशभर २८ प्रतिशत भाडा बृद्धि गरेको थियो ।













