काठमाडौं ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका शुक्रबार निर्वाचित भएका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सार्वजनिक लेखा समितिको सिंहदरबारस्थित हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ ग्रहण समारोहमा उपसभामुख रुबी कुमारी ठाकुर र कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम पनि सहभागी थिए । प्रतिनिधिसभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भएका थिए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिएका थिए ।
सबै समितिका शुक्रबार बसेका बैठकमा सभापति छानिएका थिए । प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भएका थिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका थिए । निर्विरोध भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।
प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिएका थिए । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबिच प्रतिस्पर्धा भयो । र शेरचन निर्वाचित भइन् ।
संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा) बिच प्रतिस्पर्धा भयो । कार्की निर्वाचित भए ।











