पोखरा ।
गण्डकी प्रदेशमा मन्त्री फेरबदल भएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेशका सबै मन्त्री फेरिएका छन् ।
बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका छन्। जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् । यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।
यसैगरी एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।
मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा
मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।
उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।














