‘आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास हो’: प्रदेश प्रमुख भट्ट

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गरेका छन् ।

नयाँ वर्ष २०८३ साल आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताए ।

‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो ।’ उनले भनेका छन् – ‘बितेको वर्षको तितामीठा अनुभवलाई शिक्षाका रुपमा लिँदै नयाँ वर्षमा जोश, उमङ्ग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्र पुनर्निमाण, राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न सक्नुपर्छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरी लक्ष्य रहनुपर्नेमा उनले जोड दिएका छन् ।

शुभकामना सन्देशमा भनिएको छः ‘यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ । मुलुकलाई अगाडि बढाउन सबै दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति विकास र विस्तार हुनेमा विश्वस्त छु ।’

लोकतन्त्रको उच्चतम अभ्यास गर्न, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्नका लागि निरन्तर प्रयत्नशील रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।

  • १ बैशाख २०८३, मंगलवार १५:१३ प्रकाशित