इरान र अमेरिकाबीचको वार्ता निस्कर्षविहिन

एकअर्कालाई देखाए दोष, युद्धविरामको समयमा अनिस्चितता

केन्द्रभाग मिडिया

एजेन्सी

इरान र अमेरिकाबीचको उच्चस्तरीय वार्ता निस्कर्षविहन बनेको छ । वार्ता बिना कुनै सम्झौता टुंगिएको छ । जसले दुई साताको युद्धविरामको समयमा अनिश्चितता लम्ब्याएको छ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले युद्धविरामको दुई साताको अवधिमा पाकिस्तानको इस्लामाबादमा भएको वार्ता विफल हुनुमा अमेरिकालाई दोष दिएका छन् । इरानको संसदका सभामुख समेत रहेका गालिबाफले आइतबार भने कि उनको प्रतिनिधिमण्डलले शनिबारको वार्तामा ‘भविष्यमुखी’ पहलहरू अघि सारेको थियो तर अमेरिका इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न असफल भयो ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसअघि वार्ता बिना कुनै सम्झौता टुंगिएको बताएका थिए । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको युद्धको ६ सातापछि उनले भने, ‘खराब यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौँ, र मलाई लाग्छ कि यो संयुक्त राज्य अमेरिकाको लागि भन्दा पनि इरानको लागि धेरै खराब खबर हो।’

सन् १९७९ को इरानी क्रान्तिपछि यी दुई देशबिच यस स्तरमा भएको यो पहिलो प्रत्यक्ष वार्ता हो । यसले इरानको आणविक कार्यक्रम र स्ट्रेट अफ होर्मुजजस्ता प्रमुख मुद्दाहरूमा रहेको गहिरो मतभेदलाई उजागर गरेको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै उक्त जलमार्ग प्रभावकारी रूपमा तेहरानको नियन्त्रणमा छ ।

विश्वव्यापी कच्चा तेल आपूर्तिको पाँचौँ हिस्सा पार हुने यस जलमार्गको अघोषित नाकाबन्दीले विश्वव्यापी ऊर्जा संकट निम्त्याएको छ र विश्वभरका शेयर बजारलाई प्रभावित बनाएको छ ।

इस्लामाबादबाट रिपोर्टिङ गर्दै अल जजीराका कमल हैदरले पाकिस्तानको मध्यस्थतामा २१ घण्टाभन्दा बढी समयसम्म चलेको वार्ता न त कुनै उपलब्धिमूलक रह्यो न त पूर्ण रूपमा विफल नै भएको बताए ।

  • ३० चैत्र २०८२, सोमबार ०८:२९ प्रकाशित