काठमाडौं ।
इरान र अमेरिकाबिच झन्डै १४ घण्टा वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार अपराह्नदेखि सुरु वार्ता आइतबार बिहानसम्म दुई चरणमा वार्ता भएको हो । अहिलेलाई वार्ता सकिएको भएपनि वार्ता फेरी आज नै बस्ने बताइएको छ ।
इरानी सरकारका अनुसार केही विषयमा मतभेद कायमै रहेपनि वार्ता भने पुन जारी रहनेछ । रोयटर्सका अनुसार इरानको सरकारी टीभीका एक संवाददाताले वार्ता आइतबार पनि जारी रहने बताएका छन् ।
अमेरकी वार्ताको टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानतर्फ संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले वार्तामा नेतृत्व गरिरहेका छन् ।
२८ फेब्रुअरीमा अमेरिका–इजरायलले आक्रमण गरेपछि चलेको झन्डै ५ साता लामो युद्धमा गत मंगलबार (नेपाली समयअनुसार बुधबार) युद्धविराम भएको थियो । त्यसयता दुई पक्ष शनिबार प्रत्यक्ष वार्ताको टेबलमा बसेका हुन् ।
इरानले लेबननमा जारी इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ । ४७ वर्षअघि १९७९ मा इरानको इस्लामिक क्रान्तिपछि अमेरिकासँग यति ठूलो स्तरमा पहिलोपटक आमनेसामने वार्ता भएको हो ।













