काठमाडौं ।
एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने भएको छ । सूचना प्रविधि विभागले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस)नागरिक एपबाटै प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागेको हो । अबको एक सातामै यो सेवा सुरु हुने विभागले जनाएको छ ।
सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले यी नयाँ सुविधाहरू हाल प्राविधिक परीक्षणको चरणमा रहेको जानकारी दिए । यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएसँगै सरकारी कामका लागि लाइन बस्नुपर्ने र कागजी प्रक्रिया झेल्नुपर्ने झन्झटमा उल्लेख्य कमी आउने विभागले जनाएको छ ।
गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ लाई कार्यान्वयन गर्न सञ्चार मन्त्रालय निर्देशन दिएको थियो । सञ्चार मन्त्री डा।विक्रम तिमिल्सिनाले समय सीमा तोकेरै काम सक्न निर्देशन दिएपछि विभागले अन्य सरकारी निकायहरूसँगको समन्वयलाई तीव्र पारेको जनाइएको छ ।
यसै सिलसिलामा नेपाल इन्जिनियरिङ परिषद्सँग पनि सम्झौता भइसकेको र छिट्टै व्यावसायिक इन्जिनियरहरूको प्रमाणपत्र समेत एपमै उपलब्ध हुने विभागले जनाएको छ । नागरिक एपलाई सरकारले सबै सरकारी सेवा पाइने एउटै थलो बनाउने लक्ष्य राखेको छ । यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र ९पुलिस क्लियरेन्स रिपोर्ट० अनलाइनबाटै दिने व्यवस्था सफल भइसकेको छ ।
इन्जिनियरहरूले आफ्नो व्यावसायिक प्रमाणपत्र डिजिटल रूपमै प्राप्त गर्ने व्यवस्थाका लागि तयारी गरिएको विभागले जनाएको छ ।













