पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार बिहान १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनु परेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

  • २६ चैत्र २०८२, बिहीबार २३:५६ प्रकाशित