काठमाडौं ।
परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो ।
केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले विधान र निर्वाचन नियमावली संशोधन गरेको हो । संशोधित विधान अनुसार पाँच तहमा संस्थाको संरचना हुनेछ ।
केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा हुने गरी संरचना हुने व्यवस्था गरिएको छ । केन्द्रीय समितिमा १९ सदस्यीय हुनेछ । १९ जनाको केन्द्रीय समितिमा पाँच जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति यसअघि ३३ सदस्यीय हुने व्यवस्था थियो ।
केन्द्रीय महाधिवेशनको मिति तय गरी नसकेको रेडक्रस सोसाइटीले सबै तहमा उम्मेदवारका लागि लाग्ने शुल्क तय गरेर निर्वाचन नियमावली भने संशोधन गरेको छ ।संस्थाका महामन्त्री मीनबहादुर मल्लका अनुसार असारको मध्यतिर केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको छ । प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारका लागि २५ हजार, अन्य पदाधिकारीलाई २० हजार, प्रदेश समिति सदस्यको उम्मेदवारलाई ७ हजार तोकिएको छ ।
साथै जिल्ला सभापतिको उम्मेदवार हुनका लागि १५ हजार, अन्य पदाधिकारीलाई १० हजार र जिल्ला समिति सदस्यलाई ५ हजार रुपैयाँ तोकिएको छ । पालिका शाखाका निर्वाचित हुनका लागि उम्मेदवार बन्नेले सभापतिका लागि ५ हजार, अन्य पदाधिकारीलाई ४ हजार र सदस्यलाई ३ हजार तोकिएको छ ।












