राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि सुरु भएको छ। गएरातीबाट मौन अवधि सुरु भएको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका ४८ घन्टा अगाबै सुरु भएको मौन अवधि मा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका मतदान केन्द्रको ३०० मिटर वरिपरी निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री राख्न पाइँदैन ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

उनका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ । निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुने छ ।सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।

  • १० माघ २०७८, सोमबार ०९:५९ प्रकाशित