एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न ओलीको निर्देशन

निर्वाचन परिणाम अनपेक्षित, अप्त्यारिलो र जादुमय भएको टिप्पणी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित सांसदहरुलाई सत्यका पक्षमा काम गर्न निर्देशन दिएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

‘कौरवको सेना असाधारण थियो, ठूलो थियो । पाण्डवको सेना थोरै थियो । तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ,’ उनले भने, ‘हामी देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि काम गर्दैर्छौँ ।’

निर्वाचनको परिणाम अनपेक्षित र जादुमय देखिएको टिप्पणी गरेका छन् ।‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’

निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको ओलीले बताए । ‘यसमा एउटा हाम्रा विरोधीहरुले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे,’ ओलीले भने ।

घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको पनि ओलीले दाबी गरे ।

 

  • १२ चैत्र २०८२, बिहीबार १६:०८ प्रकाशित