काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन् ।
निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनुलाई ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरिन् ।
गत भदौमा भएको ‘जेनजी विद्रोह’ पछिको जटिल सुरक्षा अवस्था र राजनीतिक संवादहीनताका बिच सरकारले निर्वाचन गराउने मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको प्रधानमन्त्रीको भनाइ छ ।
‘हामीले जिम्मेवारी लिँदा देशमा एक प्रकारको कानुनी र राजनीतिक शून्यता थियो, तर ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरेर देशलाई पुनः संविधान र लोकतन्त्रको मार्गमा ल्याउन हामी सफल भयौँ’, प्रधानमन्त्रीले बताइन् ।
समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोग गर्ने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आम मतदाताले स्थिर सरकार र सुशासनका लागि स्पष्ट जनादेश दिएकाले अबको बाटो समृद्धिको हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले प्रदर्शन गरेको व्यावसायिक दक्षताको प्रशंसा गरे । ।













