पोखरा ।
पोखरा सभागृहको पुन:निर्माण गरिने भएको छ । पुन:निर्माणका लागि डीपीआर तयार भएको पोखरा महानगरपालिकाले जानाएको छ । पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार नगरविकास कोषको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा डीपीआर तयार भएको हो । २०४४ सालमा निर्माण भएको सभागृह हाल जिर्ण रहेको भन्दै महानगरपालिकाले यसको पुन:निर्माण गर्न लागेको हो ।
अध्ययनका क्रममा सभाहलको तल्लो स्टक्चर राम्रो रहेको र माथिल्लो स्टक्चरलाई अपग्रेड गर्दा थप ४०/५० वर्ष सञ्चलनमा कुनै अप्ठ्यारो नहुने पाइएको ई. तिमिल्सिनाले जानकारी दिए । हाल करिव १३ सयजनाको सिट क्षमता रहेको सभागृह पुननिर्माण पस्चात ९१० जनाको क्षमताको हुनेछ । अन्तराष्ट्रिय स्ट्यण्डरको सिटहरु निर्माण हुँदा संख्या घटेको हो । अन्डरग्राउण्डमा ७२ वटा कार र ८० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । नयाँ सभागृहमा एकै पटक ८० जनाले सौचालय प्रयोग गर्न सक्नेछन् ।
हाल भइरहेको सभागृहको दक्षिण तर्फ क्यन्टिन र डाइनिङ हल निर्माण हुनेछ । पुन:निर्माण हुने सभागृहमा पोखराको ढुंगा प्रयोग गरिने, माछापुच्छ्रेको आकृति देखिनुका साथै परम्परागत एवं आधुनिक शैलीको मिश्रण हुने इन्जियनियर तिमिल्सिनाले बताए ।
झण्डै ४१ करोड रुपैयाँ लागतमा पुन निर्माण हुने सभागृहमा ५० प्रतिशत नगरविकास कोषले सौलियतपूर्ण ऋण लगानी गर्ने र महानगरले ५० प्रतिशत लगानी गर्नेगरी निर्माणको प्रक्रिया अगाडि बढाउने तयारीमा महानगर रहेको छ ।
अब तीन महिनामा टेण्डर प्रक्रिया सक्ने र त्यसको एक वर्षमा पुननिर्माण गरिएको सभागृह सञ्चालन गर्ने योजना रहेको ई. तिमिल्सिनाले जानकारी दिए । ‘अण्डरग्राउण्ड पार्किङ, व्यवस्थित सौचालय, अत्राष्ट्रि स्तरको वातावरण अनुकुलित सुविधासम्पन्न सभागृह निर्माणको तयारीमा महानगर छ ।’ उनले भने, ‘कफीसप, क्यान्टिन र डाइनिङ हलसहितको सभागृहले आफ्नो सञ्चालन खर्च आफै जुटाउने छ ।’




