पोखरा ।
कास्कीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराको विकासको लिडिङ सेक्टर भनेकै टुरिजम रहेको बताएका छन् । पोखरा देशकै पर्यटकीय राजधानी सहर घोषणा भएको र यहाँ धेरै नै पर्यटकीय गतिविधि हुनुका साथै यस वरपरका क्षेत्रका लागि ट्रान्जिट मोइन्टको रुपमा विकास भइरहेको समेत उनले धारणा राखे ।
कास्कीबाट सरुवा भएर काठमाडौं प्रस्थान गर्नु अगाडि सोमबार उनको पोखरा बसाई, काम गर्दा लिएको अनुभव र पोखराको विकासका लागि गर्नुपर्ने कार्यका बारेमा केन्द्रभाग डटकमले राखेको जिज्ञासामा उनले यस्तो धारणा राखेका हुन् । उनले पर्यटक आकर्षण गर्न, ताल, हिमाल, साहसिक खेल र विभिन्न खेल प्रतियोगिता सहितका इभेन्ट यहाँ हुने गरेका स्मरण गर्दै अझै प्याकेजमा जानुपर्ने बताए ।
पोखरालाई पर्यटनको राजधानीका साथै इभेन्ट हवको रुपमा समेत विकास गर्नुपर्नेमा उनको जोड थियो । ‘पोखरा पर्यटकीय राजधानी हो नै । यहाँ पर्यटनका विभिन्न प्रडक्ट छन् नै । यसका साथै यसलाई इभेन्ट हवको रुपमा विकास गर्न सक्नुपर्छ । यहाँ राष्ट्रिय अन्तर्राष्ट्रि इभेन्टहरु भइरहनुपर्छ । त्यसका लागि पूर्वाधार निर्माण तर्फपनि लाग्नुपर्छ,’ उलने भने ।
उनले एक वर्षको बसाईमा प्रमुख जिल्ला अधिकारीले गर्ने काम शान्ति सुरक्षा कायम गर्ने विषय, विपद् व्यवस्थापनको विषय, सेवा प्रवाहलाई सहजिकरण गर्ने विषय, जनताका गुनासा सुन्ने र समाधान गर्ने विषय, बजार अनुगमन र विभिन्न क्षेत्रको नियमनकारी भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा आफू केन्द्रित रहेको बताए । उनले सहकारी प्रकरणमा रास्वपा सभापति लामिछाने पक्राउ पर्दा आक्रोसितहरुको भिडलाई सम्हालेको, पोखरामा जारी कोटिहोम सम्बन्धित विवाद र फेवातालको सिमा निर्धारण गर्न पोल गाड्ने जस्ता कार्यलाई स्मरण गरे ।
पोखरामा रहेका राजनीतिज्ञ, जनप्रतिनिधी र निजी क्षेत्र एकआपसमा अत्यन्त सहयोगी र सहकार्य गर्ने भन्दै उनले प्रसंशा समेत गरेका छन् ।