रास्वपा संसदीय दलको बैठक भोलि बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं. ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । तर रास्वपाको विधान अनुसार बालेनलाई संसदीय दलको नेता बनाउन नमिल्ने चर्चा चलेको छ । यद्यपि रास्वपाका नेताहरूले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता बनाउन कुनै समस्या नभएको बताएका छन् ।

सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति केन्द्रीय समितिबाट पहिल्यै अनुमोदन भइसकेकाले फेरि अनुमोदन गर्नुपर्ने आवश्यक नभएको बताए । संविधान र दल सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम भोलि बस्ने संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने उनले जानकारी दिए ।

सहमहामन्त्री विपिन कुमार आचार्यले पनि बालेनलाई संसदीय दलको नेता बनाउनका लागि केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले पार्टी विधानमा जेसुकै व्यवस्था भएपनि सहमतिमै दलको नेता छान्नका लागि कुनै बाधा नपर्ने जिकिर गरे ।

नवनिर्वाचित सांसदहरूले बिहीबार संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ ।

फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

  • ११ चैत्र २०८२, बुधबार १३:०२ प्रकाशित