पोखरा ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (लि–बर्ड) का पुर्व कार्यकारी निर्देशक समेत रहेका डा. सुवेदीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले डा. सुवेदीलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।














