चैत्र ११ देखि पोखरामा ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ हुदैं

केन्द्रभाग मिडिया

पोखरा ।

यहि चैत्र ११ गतेदेखि ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ ।

पोखराको लेकसाइड, तालबाराही चोक स्थित खेल मैदानमा हुने उक्त अटो शो चैत्र १५ गते सम्म सञ्चालन हुने आयोजक पश्चिमाञ्चल अटो मोबाइल डिर्लस एशोशिएसन (वाडा) ले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

अटो शोमा १६ वटा ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कर्मशियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टलहरु रहने आयोजक पश्चिमाञ्चल अटो मोबाइल डिर्लस एशोशिएसनका महासचिव विजय थापाले जानकारी दिएको छ ।

आयोजकले अटो शोको थप आकर्षणका लागि तथा नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरुबारे जानकारी उपलब्ध गराउने भएको छ ।

नयाँ संस्करणमा विशेष भिन्टेज कार पनि शोमा राखिने भएको छ । यस्तै अत्याधुनिक प्रविधि विकास एवंम् नवपरिवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु पनि प्रर्दशनमा राखिने एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिने छ ।

अटो शोमा एमपियर, अथेर, अउकवेल, विवाइडी,चेरी, वान्डा, दिपल, फोरन्टिन, हुन्डाई, काइयी,कामा, लिप मोटर, एम जी, निशान, वमोडा जाइको, प्रोटोन, रोयल एन्फील्ड, स्काइ वर्थ, सुजुकी, टाटा, टीभिएस, एक्सप्रेस टी, यामाहा, जोन्टीस जस्ता प्रख्यात ब्राण्डका सवारी साधनहरु रहने एशोशियसनका उपाध्यक्ष निरन केसीले जानकारी दिए ।

यस संस्करणमा सवारी साधन खरिद बिक्री एवम् यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्तालाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने अध्यक्ष दिपेन्द्र कोइरालाले बताए ।

केन्द्रमा रहेका अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्नु साथै आन्तरिक पर्यटनमा टेवा पुर्याउने अटो शोको उद्देश्य रहेको सो अवसरमा अध्यक्ष कोइरालाको भनाई थियो ।

५ दिनसम्म चल्ने यस अटो शोमा ४५ हजार मानिसहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

  • ९ चैत्र २०८२, सोमबार १५:४१ प्रकाशित