पोखरा ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा पोखरामा नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण सुरु भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिपको आरम्भ गराएका हुन् ।
झण्डा र ग्लाइडर हस्तान्तर गर्दै च्यम्पियनसिपको आरम्भ गराएका प्रमुख आचार्यले प्याराग्लाइडिङ पोखराको पहिचान भएको उल्लेख गरे । पोखरा प्रकृति, संस्कृति र साहसिक गतिविधिका लागि प्रसिद्ध रहेको चर्चा गरे ।
उनले महानगरले यसैलाई थप उजागर गर्न र पर्यटकीय गतिविधिलाई बढावा दिन लागि परेको बताए । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएको चर्चा गरेका उनले त्यसको महत्वपूर्ण पाटो र पहिचानको रुपमा प्याराग्लाइडिङ स्थापित भएको बताए ।
महानगरले यो प्रतियोगिताका लागि विगतमा समेत बजेट विनियोजन गरेको उल्लेख गरेका उनले आगामी दिनमा यसले निरन्तरता पाउने अपेक्षा प्रकट गरे । प्याराग्लाडिङले रोजगारी सिर्जना गर्नुका साथै विश्वभर पोखराको ब्रण्डिङ गर्न सफल भएको बताए ।
नेपाल हवाई खेलकुद संस्था ( ना) का अनिल केसीका अनुसार ‘एक्युरेसी’ विधामा भएको प्रतियोगितामा ६३ जनाको सहभागीता छ । प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन् । एफएआई क्याटागोरी २ अनुसार भएको च्याम्पियनसिपमा १५ देश खेलाडी सहभागी हुने भनिएपनि मध्यपूर्वमा जारी युद्धका कारण जम्मा ९ देशका खेलाडी सहभागी रहेका अध्यक्ष केसीले जानकारी दिए ।
च्याम्पियनसिपमा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले एक लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरी द्वितीय हुनेले एक लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् र तृतीय हुनेले ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । महिलातर्फ च्याम्पियनले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
त्यसैगरी, टिम ओभरअल विधामा पहिलो हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार पुरस्कार पाउने नाका महासचिव बलराम आचार्यले जानकारी दिए ।














