संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ ।

‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय ९पदको० राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’

सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।

त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।

अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन् । उनले लेखेका छन्, ‘जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु ।’

आफू सदैव जनताहरूको बीचमा नै रहने, हरेक मोर्चा र संघर्षमा खडा हुने, अधिकार र पहिचानको लडाईंमा सदैव भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

जनमत पार्टीको अध्यक्ष पनि अरुले नमानेपछि आफैँ बन्नुपरेको बाध्यता उनले उल्लेख गरेका छन् ।व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि उनले दाबी गरेका छन् । २०७९ को चुनाव जितेका उनी यसपटक भने पराजित भएका छन् ।

  • २ चैत्र २०८२, सोमबार ११:५७ प्रकाशित