काठमाडौं ।
नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।
सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।
साथै मोर्चाले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्तिको लागि माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको जानकारी समेत दिए ।
सुर्खेतको गुर्भाकोट नपा।–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ म बसोबास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत विकको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।














