काठमाडौं ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नो पार्टीले प्राप्त गरेको समानुपातिक मत अनुरुप समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो । बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ ।













