काठमाडौं ।
आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।
शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।
उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एकरएक प्रति लिएर जानुपर्छ ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।
यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका अनुहार हुन् ।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर विघटित प्रतिनिधिसभा सदस्य थिए । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाँक्री पनि प्रतिनिधिसभाकी पूर्व सदस्य हुन् ।
यसैगरी, कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभामा रहेर काम गरेका नेता हुन् ।कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
६६ वर्षीय थापासँग यसअघि नै संघीय सांसद र संघीय मन्त्री भएर काम गरेको अनुभव छ ।कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा अर्की सांसद रोशनी मेचे निर्वाचित भएकी छिन् । उनी सीमान्तकृत मेचे समुदायकी हुन् ।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक नेपाली कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा निर्वाचित भएका छन् ।धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
कोशी प्रदेशबाट सोम पोर्तेल राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा। प्रेम दंगाल निर्वाचित भएका छन् । दंगाल एमालेका केन्द्रीय सदस्य हुन् ।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी र सम्झना देवकोटा निर्वाचित भएका छन् ।जगत त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए । एमालेकी देवकोटा तीन वटा चुनावको हारपछि राष्ट्रिय सभा सदस्य बन्न सकेकी छन् ।
लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी गुल्मीका र जंगली दाङका पुराना नेता हुन् ।कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन् ।
सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित भएका छन् । खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । भण्डारी माओवादी पृष्ठभूमिबाट आएकी नेता हुन् ।














