सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृत महतोको निधन

केन्द्रभाग मिडिया

मलंगवा ।

सर्लाहीको एक मतदान केन्द्रमा ड्युटीमा खटिएका एक मतदान अधिकतको निधन भएको छ । पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका मतदान अधिकृत ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका महतोलाई मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

महतो जिल्ला रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । उनी जिल्ला सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए ।

उनको निधनबारे प्रादेशिक अस्पताल मलंगवाका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • १९ फाल्गुन २०८२, मंगलवार १८:३० प्रकाशित