पोखरा ।
पोखरा महानगरको फोहोर नियमित उठ्न सुरु भएको छ । सोमबार राति देखि महानगरको फोहोर नियमित उठ्न थालेको हो । मंगलबार विहानसम्म १५२ गाडी फोहोर उठेको छ । बिहान केही अबरोध भएपछि अबरोधकर्तालाई नियन्त्रणमा लिएरै भएपनि फोहोर व्यवस्थापनको आगाडी बढाइएको महानगरले जनाएको छ ।
अहिले स्थानीयसंगको समन्वयमा फोहोर व्यवस्थापनको कार्यलाई निरन्तरता दिइएको र यो अस्थायी समाधान भएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । ‘फाहोरको दुर्घन्ध फैलियो । पानी पर्नेक्रम बढ्यो । यस्तो बेला हैजा समेतका महामारी फैलन सक्ने अवस्था आएकाले महानगर यत्तिकै बस्ने कूरा भएन । राजनीतिक दलहरु र फोहोर व्यवस्थापन गर्ने स्थल वरपरका वासिन्दासंग समेत सहमतिमा फोहोर व्यवस्थापन गर्न जुटेका छौं ।’ उनले भने, ‘बिहान फेरि केही अबरोधको प्रयास भएको छ । त्यसलाई समेत पन्छाएर फोहोर व्यवस्थापनमा जुटेका छौं । यो अस्थायी समाधान हो । स्थायी समाधानका लागि पनि काम भइरहेको छ । निर्वाचन लगत्तै निकास निस्कनेमा विस्वस्त छौं ।’
प्रमुख आचार्यले सहमतिमै भएका काममा समेत अबरोध गर्ने कार्यलाई अब बन्द गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् । विहानै सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल सार्वजनिक गर्दै दलहरुलाई आफ्ना कार्यकर्तालाई जिम्मेवारीपूर्वक नियन्त्रणमा राख्न समेत आह्वान गरेका छन् । अन्यथा प्रचलित कानून अनुसार कारबाही हुने उनले प्रष्ट्याएका छन् ।
फोहोर व्यवस्थापन जस्तो अत्यन्त सम्बेदनसील विषयमा अनावश्यक राजनीति नगर्न दल र तिनका नेताहरुलाई आग्रह समेत गरेका छन् । हरेक कुराको एउटा सीमा हुनेभन्दै उनले अब अति भएको र अति हुन नदिइने समेत संकेत गरेका छन् ।














