आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालित हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालित हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ ।

दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ । उनीहरुले कुनरकुन ठाउँको परिधिभित्रको क्षेत्र मतदान केन्द्र हो भनेर सबैले स्पष्टसँग देख्नेगरी सूचना निकाल्छन् ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझ्छन् । र, निर्वाचन नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरुको टोली साथमा नै रहन्छन् ।

निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार, आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको रिपोर्ट आएको थियो । आयोगले सुदूरपश्चिम र कर्णालीमा सडकको सुविधा नपुगेका केन्द्रहरुलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरेको थियो । आइतबार अपराह्नसम्म सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका करिव ३ सय मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेका थिए ।

तुलनात्मक रुपमा सडकको सुविधा पुगेको ठाउँमा भने आइतबार अपराह्नसम्म कर्मचारी पुगेका थिए । शहरी क्षेत्र र तराईका केन्द्रहरुमा ढिलोमा पनि सोमबार अपराह्नसम्म कर्मचारीहरु मतदान केन्द्रमा पुगिसक्नेछन् ।

मतदान अधिकृतको जिम्मामा रहने मतपत्र लगायतका निर्वाचन सामग्रीहरुलाई नेपाल प्रहरीले सुरक्षा दिएको हुन्छ । निर्वाचन आयोग र प्रहरी हेडक्वाटरले सुरक्षाकर्मीहरुलाई मतदान अधिकृत लगायतका कर्मचारी र सिलबन्दी गरिएका मतपत्र लगायतका सामग्रीलाई नछाड्नु र २४ सै घण्टा निगरानी गर्नु भनेर निर्देशन दिएको छ ।

  • १८ फाल्गुन २०८२, सोमबार ११:५६ प्रकाशित