नेकपाको चुनावी अपिल सर्वाजनिक : अवस्था बदल्ने प्रतिवद्धता (पूर्णपाठसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ । अपिलमा विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ । विभिन्न २२वटादल तथा समाजवादी समूह मिलेर बनेको नबगठित पार्टी नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ भन्ने मुख्य नारासहित सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई प्रमुख चुनावी मुद्दाका रुपमा उल्लेख गरिएको छ ।

वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल भएको निष्कर्ष निकाल्दै यस पार्टीले चुनाव प्रणालीमै परिवर्तन गर्ने उद्घोष गरेको छ । कुनै पनि दलको एकल बहुमत नआउने र गठबन्धनका कारण देशमा अस्थिरता निम्तिएको भन्दै कम खर्चिलो र सरल निर्वाचन प्रणाली अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ ।

त्यसैगरी, जनताको बलिदानबाट प्राप्त वर्तमान संविधानलाई खारेज गर्ने अतिवादी सोचलाई परास्त गर्दै, संविधानको गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट पार्टीले लिएको छ । लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीलाई थप सुदृढ गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य अपिलमा राखिएको छ ।

सुशासन र पारदर्शीतालाई उच्च प्राथमिकतामा राखेको यस पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने कडा नीति अघि सारेको छ । आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने पार्टीको प्रतिबद्धता छ । संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रवाह गर्दै कमिसनतन्त्र, ढिलासुस्ती र अपारदर्शिता जस्ता क्यान्सरका रूपमा फैलिएका बेथितिहरूको अन्त्य गर्ने दाबी नेताद्वयले गरेका छन् ।

देशको आर्थिक(सामाजिक रूपान्तरण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना पनि अपिलमा समेटिएको छ। आयातमा आधारित राजस्व र बढ्दो व्यापार घाटालाई निरुत्साहित गर्दै कृषि, उद्योग, जलस्रोत र पर्यटनको विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने पार्टीको लक्ष्य छ। दलाल पुँजीवाद, कालोबजारी, र मिटरब्याजी जस्ता आर्थिक अपराधलाई नियन्त्रण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खाना र छानामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने ुवैज्ञानिक समाजवादुको आधार खडा गर्ने वाचा गरिएको छ ।

नेकपाको निर्वाचन अपिल हेर्न क्लिक गर्नुहोस् ।

  • १४ फाल्गुन २०८२, बिहीबार १८:०१ प्रकाशित