आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाइट ब्लक

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रर्वद्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो ।

एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उनले जानकारी दिए । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उनले बताए ।

हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उनकाअनुसार वेबसाइट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उनले जानकारी दिए ।

उनका अनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उनले जानकारी दिए ।

सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उनको भनाई छ । जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उनले जानकारी दिए ।

  • १३ फाल्गुन २०८२, बुधबार १५:२३ प्रकाशित